साइबर हमला हुनुअघि नै पहिचान गर्ने सफ्टवेयर अब नेपालमा
काठमाडौं। बढ्दो साइबर अपराध र डिजिटल जोखिमलाई मध्यनजर गर्दै विश्वको अग्रणी डिजिटल जोखिम सुरक्षा कम्पनी ‘सीटीएम ३६०’ र नेपाली साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालबीच सहकार्य भएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा यी दुई कम्पनीबीच साझेदारी पत्रमा हस्ताक्षर भएको हो। अब ‘सीटीएम ३६०’ को अत्याधुनिक सेफ्टी प्लेटफर्म नेपाली बजारमा क्रिप्टो जेन नेपालले बिक्री वितरण गर्नेछ।
साइबर सुरक्षा चुनौती बढिरहेको अवस्थामा यो साझेदारीले नेपाली संस्थाहरूलाई डेटा उल्लंघन, फिसिङ आक्रमण, डार्क वेबमा सूचनाको दुरुपयोगजस्ता डिजिटल जोखिमबाट सुरक्षित रहन मद्दत गर्ने विश्वास गरिएको छ। ‘सीटीएम ३६०’ विशेषगरी ठूला कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी विकास गरिएको सुरक्षा प्लेटफर्म हो।
यसले डिजिटल सम्पत्तिलाई आन्तरिक र बाह्य दुवै किसिमका साइबर खतराबाट जोगाउन मद्दत गर्ने बताइन्छ। यस प्लेटफर्मले एक्सटर्नल अट्याक सर्फेस मेनेजमेन्ट, डिजिटल रिस्क प्रोटेक्सन, साइबर थ्रेट इन्टेलिजेन्स इन्फरमेसन, ब्रान्ड सुरक्षा र एन्टी–फिसिङ, डिप र डार्क वेब मनिटरिङ, सुरक्षा मूल्यांकन लगायतका सेवा प्रदान गर्छ ।
साथै यस प्लेटफर्मबाट थर्ड पार्टी रिस्क मेनेजमेन्ट र अनलिमिटेड टेकडाउनजस्ता विविध सुरक्षा सेवा लिन सकिन्छ। ‘सीटीएम ३६०’ ले पहिले नै कम्पनीको डेटा सेटअप गरेको हुन्छ। यसले गर्दा कुनै अतिरिक्त सेटअप, कन्फिगरेसन वा म्यानुअल इनपुट गर्नुपर्दैन।
यस प्लेटफर्मको प्रयोगले संस्थाहरूले आफ्ना वेबसाइटमा भएका सुरक्षा कमजोरीहरू पत्ता लगाउन, डार्क वेबमा कम्पनीसँग सम्बन्धित डेटा लिक भएको छ कि छैन भन्ने थाहा पाउन, कम्पनीका उच्च अधिकारीहरूको नक्कली प्रोफाइल बनाएर भ्रम फैलाइएको छ कि छैन भन्नेजस्ता विषयहरू पहिचान गर्न सक्नेछन्।
साथै, यसले त्यस्ता नक्कली प्रोफाइल तथा वेबसाइटहरूलाई तत्काल हटाउनसमेत सहयोग गर्नेछ। क्रिप्टोजेन नेपालका प्रमुख प्राविधिक अधिकृत निर्मल दाहालले बढ्दो साइबर खतरालाई नियन्त्रण गर्न बाह्य खतरा जस्तै फिसिङ, डेटा लिक, डार्क वेब गतिविधिहरूलाई पहिचान गर्नु आवश्यक रहेको बताए।
‘सीटीएम ३६०’ सँगको सहकार्यले नेपालको साइबर सुरक्षालाई थप मजबुत बनाउने लक्ष्य लिएको उनले सुनाए। ‘सीटीएम ३६०’ का सीईओ मिर्जा असरार बेगले क्रिप्टो जेन नेपालसँगको साझेदारीले नेपालका संस्थाहरूलाई डिजिटल खतराहरूसँग प्रभावकारी ढंगले लड्न मद्दत गर्ने बताए। उनले यो प्रविधि र क्रिप्टो जेन नेपालको स्थानीय ज्ञान र अनुभवले नेपालको साइबर सुरक्षा क्षमतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरे। यो सफ्टवेयर प्रयोग गर्न वा बुझ्नका लागि क्रिप्टोजेन नेपाललाई सम्पर्क गर्न सकिनेछ।