कञ्चनपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट
महेन्द्रनगर। कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फछ्र्यौट गरेको छ। अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार गरेको तथ्यांकले देखाएको छ।
शुक्रबार सञ्चारकर्मीसितको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको जानकारी दिए। उनले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६ सय ८८ मुद्दा र नयाँ दर्ता भएका १ हजार ५ सय २० मुद्दा गरी २ हजार २ सय ८ मुद्दा दर्ता रहेका थिए।
यसमा १ हजार ४ सय ११ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य रहेकोमा १ हजार ५ सय २४ वटा मुद्दा फछ्र्यौट भएको जानकारी दिए। ‘६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ,’ उनले भने, ‘६८४ मुद्दा फछ्र्यौट हुन बाँकी छ।’
त्यसैगरी अदालतको तथ्यांकअनुसार जरिवाना असुलीतर्फ कुल ३० करोड १४ लाख ९७ हजार ३ सय ३२ रुपैयाँमध्ये ५ करोड १३ लाख ५१ हजार ९ सय ७ रुपैयाँ असुल भएको छ। २५ करोड १ लाख ४५ हजार ४ सय ५ रुपैयाँ अझैँ संकलन गर्न बाँकी रहेको छ।
‘पछिल्लो समय मुद्दा दर्ताको संख्या बढी छ, त्यसअनुसार स्रोत साधन नहुँदा समस्या भएको छ,’ न्यायधीश भण्डारीले भने, ‘हाल २ वटा इजलास रहेको एउटा इजलास थप गर्न सकिए मुद्दा समयमै फछ्र्यौट हुन्छन्।’
उनले केही मुद्दाको प्रमाण समयमा नआउँदा फछ्र्यौटमा ढिलाइ हुने गरेको जानकारी दिए। अदालतले फैसला कार्यान्वयन फरार प्रतिवादी खोजी तथा जरिवाना र क्षतिपूर्ति असुली प्रक्रियालाई तीव्र बनाए पनि लक्ष्य अनुसारको काम हुन नसकेको जनाएको छ। मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार भएपछि अदालत कर्मचारी एवं प्रहरी कर्मचारी सम्मानित भएका छन्। रासस