डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

२०८३ श्रावण २ शनिबार ०७:५५:०० मा प्रकाशित

कञ्चनपुर। डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आज बिहान अमरगडी नगरपालिका-७ खस्र्याखानमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१-००१ ज १८५० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका-१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले बताए।

उनका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का ३५ वर्षीय सरस्वती लोथ्याल र जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी रहेका छन्।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।