शुक्लाफाँटाको १० वर्षे शिक्षा गुरु योजना सार्वजनिक, शतप्रतिशत विद्यालय भर्नादेखि स्मार्ट कक्षासम्म
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा सीपमूलक शिक्षा विकास गर्ने लक्ष्यसहित १० वर्षीय शिक्षा गुरु योजना सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको गुरु योजनाले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, सबै बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चित, सूचना प्रविधिमा आधारित शिक्षण प्रणाली विकास, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि तथा विद्यालय व्यवस्थापन सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय छाड्ने दर न्यून गर्ने, प्रविधिमैत्री शिक्षाको विस्तार तथा सीप र रोजगारमुखी शिक्षा प्रवद्र्धन गर्ने उदेश्यले गुरु योजना तयार गरिएको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले बताए।
उनका अनुसार गुरु योजना अन्तर्गत प्रारम्भिक बाल विकास केन्द्र सुदृढीकरण, नमुना विद्यालय विकास, डिजिटल कक्षा सञ्चालन, विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना, शिक्षक क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, खेलकुद, कला-संस्कृति प्रवद्र्धन तथा वातावरण र विपद् जोखिम न्यूनीकरणसम्बन्धी शिक्षा सञ्चालन गरिनेछ।
गुरु योजनालाई ३ चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरण (२०८३-२०८५) मा आधार निर्माण, दोस्रो चरण (२०८६-२०८९) मा शैक्षिक गुणस्तर अभिवृद्धि र तेस्रो चरण (२०९०-२०९२) मा दिगोपन तथा उत्कृष्टतामा जोड दिइने नगरपालिकाले जनाएको छ।
गुरु योजनाले शतप्रतिशत विद्यालय भर्ना सुनिश्चित गर्ने, विद्यालय छाड्ने दर २ प्रतिशतभन्दा कममा झार्ने, सबै विद्यालयमा इन्टरनेट सुविधा विस्तार गर्ने, सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गर्ने, सुरक्षित विद्यालय पूर्वाधार विकास गर्ने तथा एसईई नतिजामा उल्लेखनीय सुधार ल्याउने लक्ष्य राखेको छ।
योजनाको प्रभावकारी कार्यान्वयनका लागि नगर शिक्षा समितिमार्फत त्रैमासिक अनुगमन, वार्षिक प्रगति समीक्षा, शिक्षा सूचकहरूको नियमित मूल्याङ्कन, सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण गरिने जनाइएको छ।
संयोजक ऐरले गुरु योजनाको प्रभावकारी कार्यान्वयनबाट शुक्लाफाँटा नगरपालिकालाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित गर्दै गुणस्तरीय, समावेशी र आधुनिक शिक्षा प्रणाली विकास गर्ने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।