सुदूरपश्चिमका मुख्यमन्त्रीले एमालेका ४ मन्त्रीलाई गरे बर्खास्त

२०८३ असार ३१ बुधबार १४:१३:०० मा प्रकाशित

कैलली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका ४ मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्। बुधबार मुख्यमन्त्री शाहले एमालेका ३ मन्त्री र १ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद सहभागी थिए।

मुख्यमन्त्री शाह उच्चस्तरमा छलफल गरेर बुधबार मात्रै काठमाडौंबाट धनगढी फर्किएका थिए। तर बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हुन्।

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर केही दिनदेखि नेपाली कांग्रेस र एमालेबीच विवाद चलिरहेको थियो।