कञ्चनपुरमा भारतबाट चोरी गरी ल्याइएका ३७ प्रकारका गरगहना बरामद

२०८३ श्रावण ३ आइतबार ०८:४१:०० मा प्रकाशित

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले भारतबाट चोरी गरी ल्याइएका सुन, चाँदी तथा हिराका गरगहना बरामद गरेको छ। असार ३२ गते दोधाराचाँदनी नगरपालिका-९ स्थित एक स्थानीयको घर नजिकै लुकाएर राखिएको अवस्थामा गरगहना बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको गस्ती टोलीले शंकास्पद अवस्थामा फेला पारेको गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले बताए। उनका अनुसार घडी, झुम्का, टप, जन्तर, पत्थरलगायत ३७ प्रकारका गरगहना तथा अन्य सामान बरामद गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त गरगहना भारतको पन्जाबस्थित एक घरबाट चोरी गरी दोधाराचाँदनी ल्याइएको खुलेको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान भए पनि हालसम्म पक्राउ पर्न नसकेको डीएसपी रावतले बताए।

दोधाराचाँदनीकी एक महिला पन्जाबको उक्त घरमा काम गर्दै आएकी थिइन्। उनका २ जना आफन्तले घरबाट सुन, चाँदी तथा हिराका गरगहना चोरी गरी नेपाल ल्याएको खुलेको छ। बरामद गरिएका गरगहना आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भारतीय नागरिकलाई बुझाइने प्रहरीले जनाएको छ।