९ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई बाँड्दै भीमदत्तका वडाध्यक्ष आसिफ
कञ्चनपुर। भीमदत्त नगरपालिका-१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले ९ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ताबापतको रकम वडाका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन्।
पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट प्राप्त हुने तलबभत्ता तथा सेवा सुविधा नलिने घोषणा गरेका थिए। त्यसयता उनले आफूले पाउँदै आएको रकम वडाका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई वितरण गर्दै आएका हुन्।
२०७९ को निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका कुँवरले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सबै सुविधा वितरण गर्दै आएका छन्। वर्षभरिको तलबभत्ता जम्मा गरेर दसैँका बेला वितरण गर्ने उनले आइतबार वडाका १ सय ५८ जना ज्येष्ठ नागरिक र ७ जना अपांगता भएका व्याक्तिलाई जनही १ हजार ५ सय रुपैयाँका दरले वितरण गरे।
‘हामी बूढापाकाले दसैँको बेला सहयोग प्राप्त गर्दा असाध्यै खुसी छौँ’, स्थानीय लीला लामिछानेले भनिन्, ‘अध्यक्षले हरेक वर्ष दसैँमा यसरी नै सहयोग गर्दै आउनुभएको छ।’ स्थानीय तहमा जनप्रतिनिधिले पाउने सेवा सुविधाकाबारे विभिन्न बहस भइरहेका बेला कुँवरको यो अभ्यासको स्थानीयले प्रशंसा गरेका छन्।
स्थानीय तुलसी बोहराले भनिन्, ‘ठूलो पदमा पुगे अझै हाम्रो वडाका काम गर्नुहुथ्यो।’ ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई वितरण गरिएको रकमले चाडपर्वका बेला आवश्यक सामग्री खरिद गर्न केही सहयोग पुग्ने उनले बताइन्। वडाअध्यक्ष कुवँरले राज्य संकटमा रहेका बेला जनप्रतिनिधिले सेवा सुविधा लिनु उचित नहुने बताए।
‘जनप्रतिनिधि जनताका सेवक हुन्, जनप्रतिनिधिले राज्यको सेवा सुविधा लिनुभन्दा पनि जनताका लागि सेवा गर्ने हो’, अध्यक्ष कुवँरले भने, ‘२०७४ सालमा पहिलोपटक निर्वाचित हुँदादेखि नै मैले एक वर्षको पारिश्रमिक जम्मा गरेर चाडपर्वका बेला वडाका ज्येष्ठ नागरिक र असहायलाई वितरण गर्दै आएको छु।’