शुक्लाफाँटाका १५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-११ का ४ सामुदायिक विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। वडा कार्यालयको पहल तथा साथी संस्थाको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
प्रत्येक विद्यार्थीलाई ३ हजार ६ सय रुपैयाँ बराबरका झोला, जुत्ता, पोसाक, कापी, कलमलगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष शेरबहादुर साउँदले बताए। उनका अनुसार सरस्वती माध्यमिक विद्यालय, सिद्धभिम आधारभूत विद्यालय, दिपनगर आधारभूत विद्यालय र दशरथ आधारभूत विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरिएको थियो।
‘साथी संस्थाले सन् २०२४ देखि वडामा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘सोही कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।’ दशैँपछि किशोरीहरूका लागि आत्मरक्षा तालिमसमेत सञ्चालन गरिने उनको भनाइ छ।