मिठाईको उत्पादनदेखि उपभोग्य मितिसम्मको विवरण खुलाउन कञ्चनपुर प्रशासनको निर्देशन

२०८३ कार्तिक ११ मंगलबार २०:२५:०० मा प्रकाशित

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई मिठाईको गुणस्तर र उपभोक्ता सुरक्षासम्बन्धी विवरण अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ।

प्रशासनले होटल, मिठाई पसल तथा मिठाई भण्डार सञ्चालकलाई आफूले उत्पादन तथा बिक्री गर्ने मिठाईमा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न मिल्ने अन्तिम मिति र मूल्य स्पष्ट रूपमा उल्लेख गर्न आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार व्यवसायीले मिठाईको नाम, मुख्य सम्मिश्रण, प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति तथा प्रतिकिलोग्राम मूल्यसहितको विवरण ग्राहकले सहजै देख्न सक्ने गरी राख्नुपर्नेछ।

यसका लागि मिठाई राख्ने सोकेस वा बिक्री काउन्टरमा उपभोक्ताले स्पष्ट रूपमा पढ्न सक्ने गरी विवरण राख्न प्रशासनले अनुरोध गरेको छ। उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईमा प्रयोग भएका सामग्री, त्यसको गुणस्तर र उपभोग्य अवधिबारे जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

कार्यालयले तोकिएको विवरण नराख्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिनेछ। प्रशासनले मिठाई व्यवसायीलाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा, खाद्य स्वच्छता र गुणस्तर कायम राख्न ध्यान दिन अनुरोध गरेको छ।