कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण, कुन पालिकाले कति पाए?

२०८३ कार्तिक १२ बुधबार ०८:२२:०० मा प्रकाशित

कञ्चनपुर। कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले यहाँका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ। कम्पनीले युरिया र डिएपी मलको कोटा निर्धारण गरिएको महेन्द्रनगर शाखाका प्रबन्धक हेमराज जोशीले जानकारी दिए।

उनका अनुसार प्रदेश मल वितरण व्यवस्थापन समितिबाट महेन्द्रनगर शाखालाई प्राप्त हुने ५ सय ४१ मेट्रिक टन युरिया र ४ सय ८७ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको हो। जिल्लाको भीमदत्त नगरपालिकालाई १ सय ३ मेट्रिक टन युरिया र ९३ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको छ।

बेदकोट नगरपालिकाका लागि ९५ मेट्रिक टन युरिया र ८५ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको छ। त्यसैगरी, यहाँको शुक्लाफाँटा नगरपालिकाका लागि ९५ मेट्रिक टन युरिया र ८६ मेट्रिक टन डिएपीको कोटा निर्धारण गरिएको छ।

दोधारा चाँदनी नगरपालिकाका लागि ७९ मेट्रिक टन युरिया र ७१ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको छ। कृष्णपुर नगरपालिकाले १ सय ३ मेट्रिक टन युरिया र ९३ मेट्रिक टन डिएपी मल प्राप्त गर्नेछन्। बेलडाँडी गाउँपालिकाका लागि ६४ मेट्रिक टन युरिया र ५७ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको छ।

‘हामीले पालिकाहरूका लागि कोटा निर्धारण गरेका छौँ, त्यही कोटाभित्र नगरपालिकाले पालिकाभित्र रहेका सहकारीलाई कति परिमाणमा मलखाद उपलब्ध गराउनुपर्ने हो त्यसको सिफारिस पठाउनुपर्छ,’ शाखा प्रमुख जोशीले भने, ‘स्थानीय तहको सिफारिसका आधारमा कम्पनीले सहकारीलाई बुधबारदेखि नै रासायनिक मल वितरण गर्छ।’

मल बिक्री गर्ने सहकारीले किसानलाई वितरण गरेको मलको विवरण एफएमएस प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने छ।

त्यसैगरी, अनुदानको मल वितरण व्यवस्थापन कार्यविधिअनुसार आवश्यक विवरण तथा प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहबाट प्रमाणित गराएर कृषि सामग्री कम्पनीको महेन्द्रनगर शाखामा पेस गर्नुपर्ने छ। कम्पनीले १० दिनभित्र मल लैजान अनुरोध गरेको छ। रासस