मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको योगदान र दार्शनिक दृष्टिकोण
सुदूरपश्चिमको महान सपूतमध्ये एक हुन् बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंह। नेपालका राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले नेपालको शिक्षा, न्यायप्रशासन, पत्रकारिता र नेपाली भाषाको उत्थानमा पु-याएको योगदान अतुलनीय छ। राजा जयपृथ्वीले आफ्नो सम्पूर्ण जीवन विश्वशान्ति र मानवतावादमा खर्चेका थिए। विश्वव्यापी रूपमा मानवताको सन्देश प्रवाह गरेका थिए।
जयपृथ्वी जात, धर्म, सम्प्रदाय, संकीर्ण राष्ट्रवाद जस्ता मान्छेलाई विभाजन र युद्ध गराउने ‘डिभाइडर’बारे सचेत थिए। मान्छेलाई मान्छेसँग जोड्ने बलियो ‘कनेक्टर’ खोज्ने क्रममा जयपृथ्वीले ल्याएको सिद्धान्त थियो मानवतावाद। मानवतावादको अभियानमा जयपृथ्वी शिक्षा, पत्रकारिता, मानव अधिकारको क्षेत्रमा सक्रिय रहेका थिए।
बझाङ राज्यका ५५ औं पुस्ताका राजा बिक्रमबहादुर सिंह तथा रानी रुद्रकुमारी सिंह (तत्कालीन नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाकी जेठी छोरी) का जेठा सुपुत्रका रूपमा जयपृथ्वी बहादुर सिंहको जन्म वि.सं. १९३४ साल भाद्र ७ गते (२३ अगस्ट १८७७) बझाङ, चैनपुर पुरानो दरबारमा भएको थियो।
शिक्षाः त्यो समयमा बझाङ लगायत सुदूरपश्चिममा औपचारिक शिक्षा प्रणाली नहुनाले जन्मघर चैनपुर स्थित पुरानो दरबारमा वि.सं. १९३९ सालको वसन्त पञ्चमीका दिन पण्डितबाट ५ वर्षको उमेरमा अक्षरारम्भ गराई पढाइको व्यवस्था गरिएको थियो।
वि.सं. १९४२ सालमा राणा परिवारका बालबालिकाले मात्र पढ्न पाउने काठमाडौंको थापाथली दरबार पाठशालामा प्राथमिक शिक्षा र दरबार हाईस्कुलमा माध्यमिक शिक्षा अध्ययन गरे।
वि.सं. १९५१ मा कलकत्ता विश्वविद्यालयबाट म्याट्रिक, वि.सं. १९५२ मा इलाहाबाद कलेजमा समाज-विज्ञान विषयमा आइ.ए. र वि.सं. १९६२ मा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका थिए।
जयपृथ्वी बहादुर सिंह राणाहरूको निरंकुश शासनकालमा जन्मिएका भए पनि बझाङ्गी राजाको हैसियत र बाल्यावस्थादेखि नै तीव्र बुद्धि, आत्म–विवेकी लक्षणले स्वअध्ययनमा विशेष रुचि भएको कारण उच्च शिक्षा प्राप्त गर्न सफल भएका थिए।
राजा र विवाह
जयपृथ्वी बहादुरका बुवा राजा बिक्रमबहादुर सिंहको तत्कालीन राणा प्रधानमन्त्री वीरसम्शेर राणासँगको पारिवारिक मतभेदका कारण वि.सं. १९४६ मा १२ वर्षीय कुमार जयपृथ्वी बहादुर सिंहलाई राजा पदवी दिइएको थियो। वि.सं. १९५१ मा श्री ३ चन्द्र शमशेरकी छोरी खगेश्वरीसँग जयपृथ्वीको विवाह सम्पन्न भएको थियो।
वि.सं. १९५३ मा एउटी छोरी उनीबाट जन्मिन् तर छ महिनामै मृत्यु भयो। गृहस्थ मामिलामा आउने रुचि जयपृथ्वीमा त्यति थिएन। त्यसपछि उनका सन्तान भएनन्। बझाङ जस्तो विकट ठाउँमा जन्मेका जयपृथ्वीले आफ्ना नागरिकको शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक अवस्था पनि राम्ररी बुझेका थिए।
राणा प्रधानमन्त्री जङ्गबहादुरका छोरीपट्टिका नाति र प्रधानमन्त्री चन्द्र शमशेरका छोरीज्वाइँ भएकाले राणा शासकहरूको जीवनशैली एवं सत्ताको खिचातानीलाई नजिकबाट बुझेका थिए। आफ्नो एक्लो छोरीको एक्लो ज्वाइँ भएकाले चन्द्र शमशेरले विभिन्न ओहदाका ठाउँमा बस्न लगाए र मनोरञ्जनवादी समयकालको पनि व्यवस्था मिलाए। तर उनले ती ओहदामा प्रसन्नता लिन चाहेनन्।
आफ्नै उदारवादी चरित्रको मातहतमा रहन थाले। क्रमशः उनको विचार ससुरा चन्द्र शमशेरको विचारसँग बाझिन थाल्यो। फलस्वरूप मतभिन्नताको कारणले ज्वाइँ ससुराको मैत्री सम्बन्ध समेत टुट्दै गयो। श्री ३ चन्द्र शमशेरले ज्वाइँ जयपृथ्वीलाई दाइजोको रूपमा खुशी तुल्याउन भनी भारतको बैङ्लोरमा एउटा उच्च कोटीको भवन निर्माण गराई बसाल्न लगाए।
परन्तु जयपृथ्वीले त्यहाँ गएर त्यो भवनमा मानवतावादी क्लब खोली त्यसकै प्रचार प्रसार गर्न थाले। भवन प्रति उनले माया गरेनन्। उनको माया मानवतावादी चरित्रको तर्फ गयो। त्यसै शिलशिलामा उनी विश्वका विभिन्न देशको भ्रमण गरी काठमाडौं पुगे।
प्रवासः विदेशहरूको भ्रमण गर्दै जाँदा सबै तहका उपस्थितिमा उनले राणा विरोधी भाषण गर्दै गए, साथमा मानवतावादी चरित्रको पनि वक्तव्य राख्दै गए। नेपालबाट सर्वप्रथम बेलायतमा गएर भाषण दिने नेपाली पनि जयपृथ्वी नै देखिन्छन्।
उनमाथि सेवाको भावना झनझन अगाडि आउन थाल्यो। राणाहरूको गतिविधिमा उनले मिलेर बस्न नसकी चन्द्र शमशेरकी छोरी आफ्नी श्रीमतीलाई समेत छोडेर वि.सं. १९७३ मा जयपृथ्वी स्वदेश छोडी भारतको नैनीतालतिर बस्न थाले।
श्रीमतीले ‘म पतिसँग नै बस्छु’ भनी बुवा चन्द्र शमशेरसँग जाहेरी गर्दा ठीक छ भनी उहाँलाई तावदानीमा बझाङ पठाइदिए। केही दिनमा “श्रीमानलाई भेट्छु” भनी कञ्चनपुरको ब्रह्मदेवमा आउनुभयो।
जयपृथ्वीको निम्ति नैनीताल मान्छेद्वारा खबर पठाउँदा जयपृथ्वी भारतको टनकपुरस्थित महाकाली नदीसम्म पुगेर त्यहीँबाट श्रीमती साथमा लिएर दुवै दम्पती राणा विरोधी हुँदै भारतमा नै आफ्नो बाँकी जीवन बिताए।
नेपाली भाषा र शिक्षामा उनको योगदान
जयपृथ्वी र मोतीराम भट्टको नेपाली भाषालाई पठनपाठनको माध्यम बनाइनु पर्ने सुझाव अनुरूप देव शमशेरले नेपालमा पठनपाठनको भाषा नेपाली चयन गरेका थिए। नेपाली भाषामा पठनपाठन गर्ने निर्णय भए पनि पाठ्यपुस्तक भने थिएन। त्यसैले जयपृथ्वी आफैँले वि.सं. १९५८ मा ‘अक्षराङ्क शिक्षा’ नामक पाठ्यपुस्तक लेखेका थिए।
४४ पृष्ठको ‘अक्षराङ्क शिक्षा’ नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। ‘अक्षराङ्क शिक्षा’ पछि जयपृथ्वीले विद्यार्थीहरूकै लागि वि.सं. १९५८ मा बालबोध, ज्ञानमाला र श्रेस्ता दर्पण पाठ्यपुस्तक लेखेका थिए। उनको यस पुस्तकमा सीपमूलक र व्यावहारिक शिक्षालाई आवश्यक नापतौल, ऋतु-महिना, ग्रह-नक्षत्र र इस्लाम धर्मको चाडपर्वबारे सरल भाषामा वर्णन गरिएको थियो।
उनका अन्य कृतिहरूमा ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध-भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘प्राकृत व्याकरण’, ‘भूगोल विद्या’, ‘मानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ आदि पुस्तकहरू पर्छन्।
अड्डा अदालत र राज्य प्रशासन सञ्चालनार्थ आवश्यक जनशक्ति आवश्यक भएको कुरा चन्द्र शमशेरलाई बोध गराई बन्द भएका भाषा पाठशाला पुनः सञ्चालनमा ल्याउन लगाई ती भाषा पाठशालाहरूलाई श्रेस्ता पाठशालाका रूपमा रूपान्तरण गरेका थिए।
श्रेस्ता पाठशालाका लागि आवश्यक पाठ्यपुस्तक श्रेस्ता दर्पण जयपृथ्वी आफैँले लेखेका थिए। नेपालमा कानुन विद्याको पठनपाठनका लागि लेखिएको ‘श्रेस्ता दर्पण’ पहिलो कानुन पुस्तक हो। कलकत्ताबाट अध्ययन सकेर फर्केपछि जयपृथ्वीले नक्सालस्थित आफ्नै निवासमा जनताका छोराछोरीका लागि सत्यवादी पाठशाला खोलेका थिए।
आफैँ प्रधानाध्यापक भएर अध्यापन गराएका थिए। तर राणाहरूको अवरोधका कारण उनले सत्यवादी पाठशाला वि.सं. १९७९ मा बझाङमा सारेका थिए। सुदूरपश्चिम नेपालमा जयपृथ्वीले स्थापना गरेको सत्यवादी पाठशाला पहिलो विद्यालय हो।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान
नेपालले भारत-बेलायतको उपनिवेश रहँदै आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको थियो। बेलायत, भारत लगायतका मुलुकहरूमा नेपाली राजदूत रहने व्यवस्था थियो।
तथापि विश्वका अधिकांश मुलुकसँग नेपालको दौत्य सम्बन्ध स्थापना भइनसकेको अवस्थामा जयपृथ्वी बहादुर सिंहले अमेरिका, जापान, चीन, स्विटजरल्याण्ड, जर्मनी, चेकोस्लोभाकिया, अष्ट्रिया, हङ्गेरी, रोमानिया, पोल्यान्ड, फ्रान्स लगायतका मुलुकहरूको भ्रमण गरी ती देशका विभिन्न सहरमा आफूद्वारा प्रतिपादित ‘मानवतावाद’ दर्शनबारे प्रवचन दिएका थिए।
उनको यस प्रयासले जनस्तरबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान दिएको देखिन्छ। मानवतावादको प्रवचनका क्रममा जयपृथ्वीले युरोप, अमेरिका, एसिया र अफ्रिकाका धेरै मुलुकको भ्रमण गरेका थिए। मानवतावाद, विश्व-भ्रातृत्व र विश्वशान्तिको सन्देश प्रवाह गरेका थिए।
घरेलु उद्योगको स्थापना
त्यस समयमा पनि पिँधमा परेका, पारिएका र मूलप्रवाहबाट वञ्चित गरिएका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन उनले धेरै प्रयास गरेका थिए। उनले बझाङमा छाला प्रशोधन, तामा तथा धातु उद्योग, नेपाली कागज उद्योग, कपडा उद्योग जस्ता प्राविधिक विषयमा तालिम दिई घरेलु उद्योगको स्थापना गरेका थिए। आफ्ना नागरिकमा हक, हित र अधिकारको प्रत्याभूति गराई स्वतन्त्र र स्वाभिमानपूर्वक बाँच्न पाउने वातावरणका लागि स्वतन्त्र न्यायालयको स्थापना गराएका थिए।
न्यायिक र प्रशासनिक सुधार
राणा शासनमा सत्ता र शक्तिको महत्वपूर्ण भूमिका हुन्थ्यो। जयपृथ्वीले भने तत्कालीन न्याय प्रणालीमा सुधार गर्दै सामाजिक न्यायमा सुधार ल्याएका थिए। नागरिकलाई आफूमाथि भएको अन्याय विरुद्ध बोल्न पाउने वातावरण निर्माण गराएका थिए। जयपृथ्वीले आफ्नो राज्य बझाङमा न्यायिक सुधार, शिक्षा, स्वास्थ्य र विकास निर्माणमा ठूलो योगदान पु-याएका थिए। वि.सं. २०१६ अघि सम्म पनि बझाङ राज्यको आफ्नै राज्य अदालत थियो।
जयपृथ्वीले बझाङको न्यायिक सुधारका लागि स्वतन्त्र न्यायालय स्थापना गरेका थिए। वि.सं. १९५६ मा सार्वजनिक सूचना दर्रा, गर्खामा टाँस गरी जनतालाई अन्याय अत्याचार नसहन र न्यायका लागि अदालतको ढोका ढकढक्याउन अपिल गरेका थिए।
वि.सं. १९६६ मा कलकत्ताबाट आयुर्वेदिक चिकित्सक ल्याई बझाङमा खग आयुर्वेद औषधालय खोलेका थिए। वि.सं. १९६७ मा बझाङमा भूमिसुधार लागू गरी आफ्नै परिवारका नाममा रहेका सेरा र फाँटहरूको जग्गा माथिको मोहियानी हक जनताका नाममा गरेका थिए। जयपृथ्वीको यस निर्णयबाट उनका परिवारका सदस्य, भाइभारदारहरू भने खुसी थिएनन्।
दार्शनिक दृष्टिकोण
जयपृथ्वीका दार्शनिक विचार मूलतः मानवतावादमा आधारित छन्। उनले पश्चिमका विभिन्न देश भ्रमण गर्ने क्रममा विभेद, शोषण, अन्याय र अत्याचारका विरुद्ध समानता, समता र मानवतावादका पक्षमा लाग्न विश्व समुदायलाई अपिल गरेका थिए। मानवता भन्दा अरू कुनै ठूलो धर्म छैन। धर्म र संस्कृति जीवनवादी, मानवतावादी र समानतावादी हुनुपर्छ भनेका छन्।
मानवताको संरक्षणमा उनले आफ्नो बाइसे राज्यको विरासत अर्थात् राजगद्दी नै त्याग गरे। पहिलो र दोस्रो विश्वयुद्धको चरम विभीषिकाबाट ग्रसित मानव समाजलाई बचाउन बढी जोड दिएका थिए। यसका लागि शान्ति, सुरक्षा र शिक्षा नै बलियो हतियार हो भन्ने उनको अभिमत छ।
मुलुक कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा जयपृथ्वीबहादुर सिंहले वि.सं. १९६४ सालमा ‘शिक्षा दर्पण’ तेस्रो भाग पुस्तक लेखेर प्रकाशन गरी यसको भूमिकामा आफ्नो गहन मत लेखेका छन् जुन निम्नानुसार छ– “मानिस जन्मेपछि केही नकेही तरहबाट जिन्दगी बिताउनु पर्छ। कसरी जिन्दगी बिताउनु भन्ने विचार छ, असल काममा दिन काट्नु सब भन्दछन्।
असल र नासल कामको फिरिस्त लेखी निर्वाह छैन। सामान्य असल काम भनेको खान नपाउनेलाई खान दिनु, लाउन नपाउनेलाई लाउन दिनु। सकेसम्म मुलुकको भलाइ गर्नु, आफ्नो मुलुक सुधार्नु, सबलाई इलम दिनु, आफ्नो मुलुकको भलाई र उन्नति गर्नु सबै मानिसको धर्म हो। मुलुकको उन्नति गर्नालाई के के चाहिन्छ? कसरी हुन्छ? भन्ने विचार गर्नु प¥यो। यो कुरो एउटाले गरेर हुने होइन।
सबको मन मुलुकको भलाईमा हुनु पर्छ। मुलुकको भलाई गर्नालाई राजा भारदार हुनु पर्दैन। साना–साना कुरा सबैले गर्न सक्छ। सबैले इलम सिकी, विद्या पढी, जान्ने भई अरूलाई हाँकी ‘होस्टे’ भन्ने हुन चाहनु पर्छ।
तर केही गरी ‘होस्टे’ भन्ने भाग अर्कालाई प-यो भने पनि ‘हैँसे’ भन्नेको जमातमा मिली, ‘हैँसे’ भन्न पनि गाह्रो नमान्नु। आफ्नो झै झगडा अदालतमा राखेर तन्मन दिई शेषका उन्नतिमा मन दिन्या जान्न्याहरूले मिली होस्टे होस्टे भनी दिँदा सब मिली एकछिन स्वदेशका उपर हैँसे हैँसे भनेर बल थपिदिँदा कुन काम सिद्धिन्नथ्यो।”
उपरोक्त पुस्तकमै जयपृथ्वी लेख्छन्– “धन मुलुकमा व्यापार र खेतीबाट आउँछ। मुलुकमा सब मानिसको धन मुलुकको मूल धन कहलाउँछ। तर मुलुकका कोही मानिसले धन जम्मा गरी थन्क्याई राखेको छ भने सो थन्क्याएको धन मूल धन बन्दैन। अथवा जुन धन पछि केही फाइदा ननिस्कने अर्थात् घर अथवा कसैको वेकामको सौखका निमित्त खर्च हुन्छ भने सो धन पनि मुलुकको मूलधन हुन सक्तैन।
तर स्कूल, अस्पताल, पुल, बाटोहरू बनाउने काममा खर्च भयाको धनलाई मुलुकको मूल धन भन्न हुन्छ। किनभने अस्पतालमा औषधी पाई बिमारी छुटेका मानिसहरू कामगरी फेरी मुलुकको धन बढाउँछन्। स्कूलमा इलम पायाका मानिसहरूले पनि मुलुकको धन हर किसिमले बढाउँछन्। पुल, बाटा बनाउँदा खर्च भएको धनले व्यापार इत्यादीमा मद्दत गर्ने हुनाले यो पनि मुलधन कहलाउँछ।”
यसैगरी वि.सं. १९६५ मा जयपृथ्वीले ‘व्यवहारमाला’ नामक १२८ पृष्ठको पुस्तक लेखी प्रकाशन गरे। यस पुस्तकको ‘उपकारको काम’ शीर्षकमा उनले मानिसले कस्ता काम गरे अरूको भलो हुन्छ, कसरी अरूको उपकार हुने काम गर्न सकिन्छ, समाजमा कस्ता मानिस छन्, तिनको कामको सक्षम विश्लेषण गरेर ती कामले समाजको, मानिसको, देशको उपकार हुन्छ त? भनेर प्रश्न गर्दै मानिसको मनोविज्ञान समेत प्रस्तुत गर्दै उनले उपकारलाई आफ्नो कर्तव्य बनाउनु पर्दछ।
आफ्नो स्वार्थलाई भन्दा पनि समाजको हितलाई केन्द्रमा राख्नु पर्दछ भन्दै लेखेका छन् – “सबैले विचार गर्नुपर्छ कि सके दुनियाँ भरको नभए आफ्नो मुलुकमा उपकार गर्नु पर्ने कति काम छन्। आफू बसेका शहरमा कति मानिस बेकम्मा भएर भोकले मरिरहेका छन्? कतिले अरू केही उद्योग नपाई अर्काको कमारा कमारी भएर, दुःख पाएर जीवन बिताएका छन्, कति विद्या नपाएर पशु जस्ता भएर रहेका छन्, कति बलियाको थिचोमिचोमा मरेका छन्।
कोही पासा र तास खेलेर दिन बिताउँछन्। कोही गफ गरेर दिन बिताउँछन्। के प्राणीको उपकार हुने काम यस्तै खेलबाडबाट हुन्छ? धेरै मानिस अर्काको दुःख थाहा त पाउँछन् तर उपकारको काम आफ्ना दुई चारवटा जहान परिवारदेखि बाहिर चलाउन सक्दैनन्। यस्ता मानिसले दया गरे भन्नु हुँदैन। यी त तमासा हेर्नेहरू हुन्।
जैले धनी हुँला वा ताकत होला उहिल्यै उपकारको काम गरौँला भन्ने सोचाइ पनि झुट्टा हो। दुनियाँको फाइदा धनैले मात्र हुने थोरै हो। उपकारको काम भनेको त मौकाले मात्र गर्ने, आफ्नु मतलबले छोड्ने होइन। घरको कामदेखि सारा दुनियाँका कामसम्ममा उपकारको काम त एउटा कर्तव्य नै हो।
आफ्ना वरिपरिका मानिसमा दया राखेर चित्त बुझाउने पनि उपकारी होइन। दुनियाँको फाइदा हुने सब कुरा मलाई थाहा छ, परीआएमा मद्दत गर्छु भन्ने पनि उपकारी होइन। अर्काको उपकार र दुनियाँको फाइदालाई त मेहनत नै गर्नुपर्छ, गहिरो विचार, एकत्व, ध्यान, इख लिएको उद्योग लिनु पर्छ। “आफ्नो मतलब छोडेर उपकार गरौँ भन्ने उमेद राख्नु पर्छ।”
जयपृथ्वीका यिनै विचारबाट उनमा कति गहिरो मानवीय विचार थियो भनेर बुझ्न सकिन्छ। सबै मानिस एक हुन् भन्ने सार्वभौम सत्य नै जयपृथ्वीको मानवतावादी–विश्वदृष्टिकोण हो।
धार्मिक, जातीय, वर्गीय एवं सामुदायिक सहिष्णुताले नै विभिन्न राष्ट्रबीच आपसी भाइचारा, अन्तराष्ट्रियता र विश्वबन्धुत्वको भावनालाई बलियो बनाउनेमा विश्वास गर्ने उनको दार्शनिक प्रवचनहरूको सार हो। जबसम्म समाजको तल्लो तहसम्म मेलमिलाप तथा सामाजिक एकता कायम गर्न सकिँदैन तबसम्म विश्वमा स्थायी शान्ति हुँदैन भन्ने वैश्विक विचार नै उनका पुस्तकमा अभिव्यक्त भएका छन्।
अन्तमा: मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह आफू व्यक्ति, परिवार, पद, पैसा र प्रतिष्ठाभन्दा माथि उठेर समाज, राष्ट्र र विश्व जगतका लागि योगदान दिएका छन्। नेपाल र भारतको स्वतन्त्रता संग्राममा उनले आफ्नो मानवतावादी वैचारिक आवाजलाई बुलन्द गरेका थिए। सुदूरपश्चिममा जन्मिएका राजा जयपृथ्वी विश्वमा नेपालका दोस्रो बुद्ध भनेर कहलिएका थिए।
वि.सं. १९९७ साल असोज १ गते (१५ अक्टोबर १९४०) जयभवन, बैङ्गलोर, भारतमा ६३ वर्षको उमेरमा मानवतावादी व्यक्तित्व राजा जयपृथ्वीको मृत्यु भएको थियो। हाल राजा जयपृथ्वीको सम्मानका लागि उनको नामबाट जयपृथ्वी नगरपालिका, खोडपे-बझाङ सडक राजमार्ग र बझाङको चैनपुरस्थित क्याम्पसको नाम राखिएको छ। (लेखक विष्ट सुदूरपश्चिम विश्वविद्यालयका समाजशास्त्र विषयका उपप्राध्यापक हुन्।)