भीमदत्तमा परम्परागत दमाह बाजा संरक्षणका लागि १५ दिने तालिम सञ्चालन
महेन्द्रनगर। भीमदत्त नगरपालिकाले कला, सांस्कृतिको पहिचान तथा संरक्षण गर्दै परम्परागत बाजाको संरक्षणका लागि १५ दिने दमाह बाजाउने सम्बन्धि तालिम दिन थालेको छ। भीमदत्तका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा बिहीबार तालिमको औपचारिक शुभारम्भ गरिएको हो।
सो तालिममा दमाह बाजा बजाउने सीप सिकाइने छ। नगरपालिकाले कला, सांस्कृतिक, सम्पदाको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकता दिदै आएको नगर प्रमुख बोगटीले बताए।
उनले लोपोन्मुख बाजा तथा परम्परागत संस्कृतिको जगेर्नाका लागि यस्ता तालिम आवश्यक रहेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
‘पछिल्लो समय हामी हाम्रा कला सँस्कृति विर्सदैँ गएका छौँ। पछिल्लो समय दमाह बाजा, पञ्चे बाजाको भन्दा पनि वैण्ड बाजातर्फ हाम्रो समाज आकर्षित हुदैँ गएको छ,’ उनले भने ‘सो कुरालाई मध्यनजर गर्दै हाम्रा परम्परागत बाजाको संरक्षण र दलित एवम् महिलाहरुको आर्थिक उन्ननतीका लागि १५ दिने दमाह बाजा बजाउने सम्बन्धि तालिन सञ्चालन गरेका हौं।’
कला सँस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिदैँ उनले सीप सिकेपछि सीपको बजारीकरणका लागि समेत नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रहरूमध्ये एक भएको बताए।
‘विशष गरी परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनको रुपमा दमाह बाजा बजाइन्छ,’ उनले भने, ‘यद्यपी आधुनिकताको प्रभावसँगै यसको प्रयोग घट्दै गएकोले संरक्षणका लागि तालिम संचालन गरिएको छ।’
भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक सुशिल भट्टले सो तालिमले युवाहरुलाई परम्परागत बाजा बनाउन र बजाउन सीप हस्तान्त्ररण गर्ने बताए।
यस्तै कार्यक्रमका सभापती एवम् भीमदत्त नगरपालिका कार्यपालिका सदस्य हरिहर परियारले दमाह बाजाको संरक्षणको लागि नयाँ पुस्तालाई सिकाउन आवश्यक रहेको बताए।
‘दमाह बाजा हाम्रो परम्परा, संस्कार र पहिचान संग जोडिएको सांस्कृतिक सम्पदा हो,’ उनले भने ‘पछिल्लो समय नयाँ पुस्तामा यसको चासो घट्दै गएकोले संरक्षणका लागि यो कार्यक्रम आयोजना गरिएको हो।’ तालिममा १८ जनाको सहभागिता रहेको छ।