कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

२०८३ कार्तिक ९ आइतबार १९:०५:०० मा प्रकाशित

धनगढी। कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले  टीकापुर क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरीमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र धिरेन्द्र शाही रहेका छन्। उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल बरामद गरिएको छ।

यस्तै, टीकापुरमै मोटरसाइकल चोरी गरेको आरोपमा थप ३ जनालाई पक्राउ गरिएको छ। टीकापुर नगरपालिका-१ एकतानगर बस्ने धनबहादुर साउँदको घरअगाडि पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (यूके ०६ बीजी २९६८) चोरी भएको थियो।

खोजतलासका क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ नयाँ टीकापुर बस्ने २० वर्षीय आकाश बिष्ट, एकतानगर बस्ने २४ वर्षीय भिम बराल र २४ वर्षीय नरेश रावल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले मोटरसाइकल चोरी गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको हो। पक्राउ परेका व्यक्तिहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।