महाकाली अस्पतालमा पहिलोपटक सफल स्पाइन सर्जरी

२०८३ श्रावण १ शुक्रबार १५:४३:०० मा प्रकाशित

कञ्चनपुर। महाकाली प्रादेशिक अस्पतालमा पहिलो पटक स्पाइन (मेरुदण्ड) सर्जरी सफलतापूर्वक सम्पन्न गरिएको छ। भीमदत्त नगरपालिका–३ तिलकपुरकी मुनि बोहरा रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्।

मेरुदण्डमा गम्भीर चोट लागेपछि उनको महाकाली प्रादेशिक अस्पतालमै सफल स्पाइन सर्जरी गरिएको हो। शुक्रबार डा. दुर्गेश चौधरीको नेतृत्वमा रहेको शल्यक्रिया टोलीले सफलतापूर्वक अप्रेसन सम्पन्न गरेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले बताए।

‘स्पाइन सर्जरी केवल शल्यक्रिया मात्र नभई बिरामीलाई फेरी उठ्न, हिँड्न र सामान्य जीवनमा फर्काउने महत्वपूर्ण प्रयास हो,’ उनले भने, ‘सफल शल्यक्रियामा संलग्न डा. चौधरीसहित सम्पूर्ण अपरेशन थिएटर (ओटी) टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

जटिल प्रकृतिका अधिकांश बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्थाको अन्त्य भइरहेको उनको भनाइ छ। उनका अनुसार चिकित्सकहरूको अथक मेहनत, अस्पताल परिवारको सहकार्य तथा समन्वयका कारण अस्पतालले सेवा विस्तार गरिरहेको छ।

‘अस्पतालमा प्रवेश गरेदेखि उपचार सम्पन्न गरी बाहिर निस्किने समयसम्म सेवाग्राहीले सहज, सरल र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन हामी निरन्तर प्रयासरत छौं,’ उनले भने, ‘सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’