महाकाली अस्पतालमा थपिए ३ विशेषज्ञ चिकित्सक, नागरिकलाई सेवा लिन सहज

२०८३ श्रावण २८ बिहीबार १२:०३:०० मा प्रकाशित

कञ्चनपुर। महाकाली प्रादेशिक अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सक थपिएका छन्। साउन २६ गतेदेखि डा. मनिष पाण्डेय (आन्तरिक चिकित्सा), डा. पदमराज जोशी (रेडियोलोजी) र डा. विक्रम मानन्धर (बालरोग विशेषज्ञ) ले अस्पतालबाट सेवा दिन थालेका हुन्।

३ जना विशेषज्ञ चिकित्सकको आगमनसँगै कञ्चनपुरका नागरिकले महाकाली अस्पतालमै आन्तरिक चिकित्सा, रेडियोलोजी तथा बालरोगसम्बन्धी विशेषज्ञ सेवा सहज रूपमा पाउने भएका छन्। विशेषज्ञ चिकित्सकहरू थपिएसँगै जिल्लावासीलाई स्वास्थ्य सेवा लिन सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले बताए।

‘विशेषज्ञ चिकित्सकहरूको आगमनसँगै कञ्चनपुरका नागरिकले आन्तरिक रोग, रेडियोलोजी तथा बालरोगसम्बन्धी विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्नेछन्,’ उनले भने। कञ्चनपुरका नागरिकलाई जिल्लामै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा सुधारका विभिन्न कार्य भइरहेको उनको भनाइ छ।