सुदूरपश्चिम सरकारले बाढी पीडितका लागि २ करोड दिने, मन्त्रीले १ महिनाको तलब
कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी पीडितका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
यस्तै, बाढी पीडितको राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो १/१ महिनाको तलबसमेत उपलब्ध गराउने निर्णय गरिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बताए।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगमा ३ जनालाई नियुक्त गरेको छ। आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट, सदस्यमा गंगादत्त जोशी र डा. हिरा चन्दलाई नियुक्त गरिएको छ।