कञ्चनपुरमा हावाहुरीले ढाल्यो केराखेती, राजेन्द्रबहादुर भन्छन्- ‘खेत हेर्दा मन थाम्नै गाह्रो हुन्छ’
कञ्चनपुर। भीमदत्त नगरपालिका-३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको खेत केही दिनअघिसम्म केराका बोटले हराभरा थियो। केराका बोटमा घरी लागिसकेका थिए। खेतमा लहरै लगाइएका केराका बोट हेर्दा हेर्दै उनी राम्रो आम्दानी हुनेमा ढुक्क थिए।
तर, असोज ९ देखि ११ गतेसम्म परेको लगातारको वर्षासँगै आएको हावाहुरीले उनको त्यो आशा एकैपटक भत्काइदियो। हावाहुरीले केरा र केराका बोट ढालिदिएपछि बिष्टलाई आपत परेको छ। बिक्रीका लागि तयार हुँदै गरेका केरा र बोट जमिनमा लडेका छन्।
कतिपय बोट हावाले भाँचिएका छन् भने कतिपय पानीका कारण कमजोर भएर ढलेका छन्। ‘यति राम्रो भएको खेती यसरी नष्ट होला भनेर सोचेको पनि थिइनँ,’ बिष्ट भन्छन्, ‘मेहनत र लगानी सबै यही खेतमा थियो। अहिले खेत हेर्दा मन थाम्न गाह्रो हुन्छ।’
केराखेतीका लागि उनले बीउ, मल, सिँचाइ, मजदूर तथा अन्य व्यवस्थापनमा डेढ लाख रुपैयाँ खर्च गरेका थिए। महिनौँसम्म गरेको मेहनतपछि आम्दानी लिने समय नजिकिँदै गर्दा प्राकृतिक विपद्ले सबै बिगारिदिएको उनी बताउँछन्।
उनका अनुसार १२ कट्ठा जमिनमा १ हजार ४० वटा केराका बोट थिए। तीमध्ये अहिले ५०-६० वटा मात्रै बाँकी छन्। खेतमा लगाइएका १ हजारभन्दा बढी केराका बोट हावाहुरी र वर्षाले ढालेका छन्। बिष्टले २०८० सालदेखि केराखेती गर्दै आएका छन्।
नेपाली सेनाबाट सेवा निवृत्त भएपछि उनले तीन-चार लाख रुपैयाँ लगानीमा केराखेती सुरु गरेका थिए। पहिलो उत्पादन अघिल्लो वर्ष बजारमा बिक्री गरेका थिए। अघिल्लो वर्षको बिक्रीबाट लगानी उठेको उनी बताउँछन्।
यस वर्ष पनि केराका बोटमा राम्रो फल लागेको थियो। दशैँ-तिहारलाई लक्षित गरेर बिक्रीका लागि तयार पार्ने उनको योजना थियो। ‘अघिल्लो वर्षको बिक्रीले लगानी उठ्यो। यसपटक केरा पनि राम्रो फलेका थिए।
दशैँ-तिहारमा बिक्रीका लागि तयार हुन्थे,’ उनी भन्छन्, ‘५-७ लाख रुपैयाँ फाइदा हुने अनुमान गरेको थिएँ, तर यस्तो भयो।’ अघिल्लो वर्ष उनले प्रतिदर्जन ३० रुपैयाँका दरले केरा बिक्री गरेका थिए। यसपटक केराको मूल्य पनि राम्रो पाएकाले गतिलो आम्दानी हुने आशामा रहेका बिष्ट अहिले निराश बनेका छन्।
‘खेतीबाट आम्दानी गरेर घरखर्च चलाउने र अर्को वर्षका लागि पनि लगानी गर्ने सोच थियो,’ उनी भन्छन्, ‘अब फेरि खेती गर्न पैसा कहाँबाट ल्याउने भन्ने चिन्ता छ।’ महिनौँको मेहनतपछि उत्पादन र आम्दानीको आशामा रहेका उनका लागि अहिले खेतमा ढलेका केराका बोटले प्राकृतिक विपत्तिको चोट सम्झाइरहेका छन्।
बिक्रीका लागि तयार हुँदै गरेका केरा खेतमै ढलेपछि उनको मेहनतसँगै आम्दानीको आशा पनि निराशामा परिणत भएको छ। प्राकृतिक विपत्तिका कारण कृषि क्षेत्रमा भएको क्षतिको यकीन विवरण संकलन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने किसानको माग छ। स्थानीय तह र सम्बन्धित निकायले क्षतिको मूल्यांकन गरी आवश्यक सहयोग गर्नुपर्ने उनी बताउँछन्।