आज देशभर देउवा पक्षधर कांग्रेसको वडा अधिवेशन
काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर वडा अधिवेशन गर्दैछ।
नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो। देउवा पक्षले आफ्नो महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
सोही कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ। उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको देउवा पक्षले जनाएको छ।
देउवा पक्षले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत खटाइसकेको नेता किरणराज पौडेलले जानकारी दिए।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले तत्काल महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको थियो। तर संस्थापन पक्षले असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर समानान्तर अधिवेशनको तयारी थालेको हो।