मनोसामाजिक विमुखीकरणः समाज परिवर्तनको एउटा अदृश्य बाधा
असल मानिसहरू समाजबाट किन टाढिँदै छन्? हाम्रो समाजमा असल मानिसहरूको कमी छ कि उनीहरूले असल काम गर्न पाउने वातावरणको कमी छ? हामी प्रायः भन्छौँ- समाज परिवर्तन हुनुपर्छ, मानिसहरू जिम्मेवार बन्नुपर्छ, भ्रष्टाचार रोकिनुपर्छ र सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।
तर एउटा प्रश्न आफैँलाई सोधौँ- समाज परिवर्तन गर्न चाहने इमानदार मानिसहरूलाई हामीले कति ठाउँ दिएका छौँ? समाजमा राम्रो सोच भएका, बुद्धिमान र इमानदार मानिसहरू पनि सामाजिक कामबाट टाढिँदै गएका छन ।
उनीहरूलाई समाजको चिन्ता हुन्छ, समस्याको समाधान पनि थाहा हुन सक्छ, तर आफ्नो विचार राख्दा विरोध, अपमान वा अनावश्यक अवरोधको सामना गर्नुपर्छ। उनीहरूको कामको सम्मान हुँदैन, बरु व्यक्तिगत सम्बन्ध र शक्तिको नजिक भएकाहरूले बढी अवसर पाउँछन्।
यस्तो अवस्था बारम्बार दोहोरिएपछि उनीहरू सोच्न थाल्छन्, ‘किन आफ्नो समय र ऊर्जा खर्च गर्ने? कसैले सुन्दैन, काम गर्न पनि दिँदैन।’ अन्ततः उनीहरू समाजको कामबाट पन्छिन्छन्। यही प्रक्रियालाई म मनोसामाजिक विमुखीकरण (Sociopsychological Alienation) भन्न चाहन्छु।
यसको अर्थ समाजप्रतिको माया वा जिम्मेवारी हराउनु मात्र होइन। समाजका लागि केही गर्न चाहँदाचाहँदै पनि प्रतिकूल वातावरणका कारण मानिस सामाजिक भूमिकाबाट टाढिँदै जानु हो।
समस्या कहाँ छ?
मानौँ, एउटा टोलमा दुई जना व्यक्ति छन्। पहिलो व्यक्ति इमानदार छ, सबैको कुरा सुन्छ र सार्वजनिक हितका लागि काम गर्न चाहन्छ। दोस्रो व्यक्ति भने आफ्नो प्रभाव र सम्बन्ध बढाउनमा बढी केन्द्रित छ।
पहिलो व्यक्तिले सबैलाई मिलाएर समस्या समाधान गर्न खोज्छ। तर उसलाई सहयोग गर्नुको सट्टा विभिन्न बहाना बनाएर रोक्ने प्रयास गरिन्छ। दोस्रो व्यक्तिले शक्तिशाली मानिसहरूको समर्थन पाउँछ र बिस्तारै समाजको अगुवा बन्छ।
अब प्रश्न उठ्छ, समाजले कसलाई अगुवा बनाइरहेको छ? काम गर्ने मानिसलाई कि शक्ति देखाउन सक्ने मानिसलाई? यस्तो अवस्था सबै ठाउँमा हुन्छ भन्ने होइन। तर जहाँ व्यक्तिगत सम्बन्ध, गुट र प्रभावले इमानदारी तथा योगदानलाई उछिन्छन्, त्यहाँ समाजले गलत सन्देश पाउन सक्छ।
इमानदार मानिस निरुत्साहित हुन्छ। अरूले पनि “असल काम गरेर के पाइन्छ र?” भन्ने सोच बनाउन सक्छन्। यसरी एउटा व्यक्तिको निराशा विस्तारै समाजकै संस्कृतिमा बदलिन सक्छ।राजनीति समस्या हो कि राजनीतिको गलत प्रयोग?
राजनीति आफैँमा खराब होइन। जनताको समस्या समाधान गर्नु, सार्वजनिक स्रोतको सही उपयोग गर्नु र समाजको भविष्यका लागि नीति बनाउनु राजनीतिका महत्त्वपूर्ण उद्देश्य हुन्। समस्या त्यतिबेला सुरु हुन्छ, जब राजनीतिक दल वा संगठनको शक्ति सार्वजनिक हितभन्दा व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ।
सिद्धान्तभन्दा पहुँच, योगदानभन्दा चाकरी र इमानदारीभन्दा गुटगत निष्ठालाई महत्त्व दिन थालिन्छ। सामाजिक कामलाई पनि दलीय चस्माबाट हेर्न थालियो भने के हुन्छ? एउटा व्यक्तिले राम्रो काम गरे पनि ऊ कुन दलको हो भनेर सोधिन्छ। अर्को व्यक्तिले गलत काम गरे पनि ऊ आफ्नै समूहको भएकाले बचाइन्छ।
यसरी सही र गलत छुट्याउने आधार नै कमजोर हुन थाल्छ। समाजसेवा कुनै एउटा दलको काम होइन। टोल सफा राख्नु, विपद्मा सहयोग गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, बालबालिकाको शिक्षामा योगदान दिनु र अन्यायविरुद्ध आवाज उठाउनु सबै नागरिकको जिम्मेवारी हो।
राजनीतिक विचार फरक हुन सक्छन्, तर सार्वजनिक हितका लागि सहकार्य गर्ने ढोका बन्द हुनु हुँदैन। असल मानिसहरू टाढिँदा समाजले के गुमाउँछ? जब इमानदार र विवेकशील मानिसहरू सामाजिक कामबाट टाढिन्छन्, उनीहरूले आफ्नो समय मात्र बचाइरहेका हुँदैनन्।
समाजले उनीहरूको ज्ञान, अनुभव, सीप र नेतृत्वको सम्भावना पनि गुमाइरहेको हुन्छ। त्यसपछि सामाजिक जिम्मेवारी केही सीमित व्यक्तिमा केन्द्रित हुन सक्छ। नयाँ मानिसले अवसर पाउँदैनन्। गलत निर्णयको विरोध गर्ने आवाज कमजोर हुन्छ। सार्वजनिक कामप्रति नागरिकको विश्वास घट्न सक्छ।
यसले एउटा महत्त्वपूर्ण प्रश्न जन्माउँछ, हामी समाजका लागि असल मानिस खोजिरहेका छौँ, तर भएका असल मानिसलाई काम गर्ने वातावरण दिइरहेका छौँ त? हामी युवालाई नेतृत्व लिन आग्रह गर्छौँ, तर उनीहरूको विचार सुन्छौँ त?
महिलालाई सहभागिताको निम्तो दिन्छौँ, तर निर्णयमा वास्तविक भूमिका दिन्छौँ त? इमानदार व्यक्तिलाई अगाडि आउन भन्छौँ, तर उसले शक्तिशाली व्यक्तिको गलत काममाथि प्रश्न उठाउँदा साथ दिन्छौँ त?
समाज परिवर्तनको सुरुवात यस्ता प्रश्नको इमानदार उत्तर खोज्नबाट हुन्छ। समाधान के हो? समाधान सबै मानिस असल बनून् भनेर भाषण दिनु मात्र होइन। असल मानिसले काम गर्न सक्ने र राम्रो कामले सम्मान पाउने वातावरण बनाउनु हो। पहिलो, सामाजिक जिम्मेवारीलाई सबैको साझा काम बनाऔँ।
समुदायका समस्या समाधान गर्न कुनै दलको सदस्य हुन आवश्यक नपर्ने वातावरण बनाऔँ। दोस्रो, व्यक्तिभन्दा नियम बलियो बनाऔँ। कसले काम पाउने, कसको प्रस्ताव स्वीकार हुने र स्रोत कसरी खर्च हुने भन्ने कुरा स्पष्ट तथा पारदर्शी हुनुपर्छ। तेस्रो, राम्रो काम गर्ने मानिसलाई पहिचान र अवसर दिऔँ।
नेतृत्व सधैँ पदमा बसेका व्यक्तिबाट मात्र आउँदैन। किसान, शिक्षक, युवा, महिला, श्रमिक र सामान्य नागरिकमध्ये पनि समाजलाई बदल्ने क्षमता भएका मानिस हुन सक्छन्। चौथो, आलोचनालाई शत्रुता नठानौँ। कसैले गल्ती देखाउँदा उसलाई विरोधी ठान्नुको सट्टा आफ्नो काम सुधार्ने अवसरका रूपमा लिऔँ।
पाँचौँ, समुदायलाई आफैँ समस्या समाधान गर्न सक्षम बनाऔँ। प्रत्येक टोलमा नागरिकले आफ्ना समस्या राख्ने, प्राथमिकता तय गर्ने, जिम्मेवारी बाँड्ने र कामको प्रगति हेर्ने व्यवस्था बनाउन सकिन्छ। नगरपालिकाले प्राविधिक सहयोग, स्रोत र निष्पक्ष अनुगमन उपलब्ध गराउन सक्छ।
विभिन्न टोलको प्रगति तुलना गर्न र राम्रो काम गर्ने समुदायलाई सम्मान गर्न सकिन्छ। पुरस्कारको आधार पहुँच वा लोकप्रियता नभई इमानदारी, सहभागिता, सहकार्य र वास्तविक उपलब्धि हुनुपर्छ। यसरी समुदायका मानिसले आफ्नो योगदानको परिणाम देख्न थाल्छन्।
विश्वास बढ्छ, नयाँ मानिस सहभागी हुन्छन् र राम्रो काम गर्ने संस्कार विस्तारै विकसित हुन सक्छ। हामीलाई दुवै पक्ष महत्त्वपूर्ण छन्-गलत काम रोक्ने नियम र सही काम गर्न प्रेरित गर्ने वातावरण। मानिसलाई अरूको दुःख बुझ्न, आफ्नो समुदायसँग जोडिन र सामूहिक काममा अर्थ देख्न सहयोग गर्नुपर्छ।
साथै, अन्याय रोक्ने नियम, निष्पक्ष अवसर र जवाफदेहिता पनि सुनिश्चित गर्नुपर्छ। करुणाले मानिसलाई जोड्छ। न्यायले सम्बन्धलाई निष्पक्ष बनाउँछ। संस्थाले त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्छ।
आध्यात्मिक साम्यवाद : साझा जिम्मेवारीको सोच
यसै विचारलाई म ‘आध्यात्मिक साम्यवाद’ को एउटा व्यावहारिक पक्षका रूपमा हेर्छु। यहाँ यसको अर्थ कुनै निश्चित राजनीतिक व्यवस्था थोपर्नु होइन। यसको आशय मानिसले आफ्नो हितसँगै अरूको हितलाई पनि महत्त्व दिन सक्ने चेतना विकास गर्नु हो।
हामी सबैको जीवन एकअर्कासँग जोडिएको छ। एउटा परिवारको समस्या समुदायसँग सम्बन्धित हुन सक्छ। समुदायको समस्या स्थानीय सरकारसँग जोडिन सक्छ। सार्वजनिक स्रोतको दुरुपयोगले धेरै मानिसलाई असर गर्न सक्छ।
त्यसैले समाजलाई केवल व्यक्तिगत स्वार्थको योगफलका रूपमा हेर्नु पर्याप्त छैन। हामीले साझा जीवनप्रतिको जिम्मेवारी पनि बुझ्नुपर्छ। यसको अर्थ सबैको विचार समान हुनुपर्छ भन्ने होइन। फरक विचार राख्ने मानिसले पनि साझा समस्यामा सहकार्य गर्न सक्नुपर्छ।
समाजलाई असल बनाउने काममा सबैको भूमिका हुन सक्छ। आफू राम्रो हुनु व्यक्तिगत गुण हो; अरूलाई पनि राम्रो काम गर्न सक्ने वातावरण बनाउनु सामाजिक योगदान हो। अब परिवर्तनको सुरुवात कहाँबाट गर्ने?
हामीले एकैपटक सिंगो समाज बदल्ने घोषणा गर्न आवश्यक छैन। एउटा टोलबाट सुरु गर्न सक्छौँ। केही इमानदार र सक्रिय मानिसलाई जोड्न सक्छौँ। सबैको कुरा सुनिने व्यवस्था बनाउन सक्छौँ। एउटा वास्तविक समस्या छानेर समाधान गर्न सक्छौँ।
त्यसको परिणाम देखाउन सक्छौँ र अनुभवबाट सिक्दै अर्को समस्या समाधान गर्न सक्छौँ। यही अभ्यास दोहोरिँदै जाँदा समुदायमा नयाँ विश्वास र नयाँ संस्कार विकास हुने सम्भावना हुन्छ। मानिसले बुझ्दै जान्छन, सहकार्य गर्दा काम हुन्छ, इमानदारीको सम्मान हुन्छ र आफ्नो योगदानको अर्थ छ।
त्यसपछि सामाजिक काम केही व्यक्तिको जिम्मेवारी मात्र रहँदैन। त्यो समुदायको साझा संस्कार बन्न थाल्छ। अन्ततः हामीले आफैँलाई सोध्नुपर्ने प्रश्न यही होः हामी समाजका खराबीको गुनासो मात्र गरिरहने हो, कि असल मानिसले अगाडि बढ्न सक्ने समाज निर्माण पनि गर्ने हो?
समाज परिवर्तनका लागि असल मानिसहरू चाहिन्छन्। तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, असल मानिसलाई निरुत्साहित नगर्ने, उनीहरूको योगदानलाई सम्मान गर्ने र गलत शक्तिको दुरुपयोगलाई रोक्ने सामाजिक वातावरण निर्माण गर्नु हो।
हामीले असल मानिसलाई खोज्ने मात्र होइन, उनीहरूलाई जोड्ने अवसर दिनुपर्छ। उनीहरूको आवाज सुन्नुपर्छ। उनीहरूको क्षमतालाई सार्वजनिक हितमा उपयोग गर्नुपर्छ।
किनकि समाजको भविष्य केही असल मानिसको उपस्थितिमा मात्र निर्भर हुँदैन; असल काम गर्न चाहने धेरै मानिसलाई एकसाथ काम गर्न सक्ने वातावरण बनाउन हामी कति सफल हुन्छौँ भन्ने कुरामा पनि निर्भर हुन्छ। परिवर्तनको सुरुवात त्यहीँबाट हुन्छ- जहाँ मानिसले “यो मेरो काम होइन” भन्न छोडेर “यो हाम्रो साझा जिम्मेवारी हो” भन्न थाल्छ।
(लेखक भट्ट शुक्लाफाँटा नगरपालिकाका सूचना प्रविधि अधिकृत हुन्। उनी समसामयिक विषयमा नियमित रूपमा कलम चलाउँदै आएका छन्।)