शुक्लाफाँटाका अधिकांश सडक बत्ती बिग्रिए, मर्मतमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

२०८३ असोज २६ सोमबार १०:०७:०० मा प्रकाशित

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले जडान गरेका अधिकांश सडक बत्ती बिग्रिएका छन्। नगरपालिकाले २ वर्षअघि जडान गरेका सडक बत्ती लामो समयदेखि नबल्दा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ।

शुक्लाफाँटा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भाष्कर भट्टका अनुसार झलारी-पिपलाडी सडकमा जडान गरिएका ८ वटा सडक बत्ती बिग्रिएका छन् भने अन्य ८ वटा बत्ती झिमझिम गर्ने र खराब हुने अवस्थामा छन्। यस्तै, झलारी-लालपनिया सडकमा जडान गरिएका २१ वटा बत्ती बिग्रिएका छन् भने १८ वटा बत्ती खराब हुने अवस्थामा पुगेका छन्।

झलारी बजारमा सौर्य ऊर्जाबाट सञ्चालन हुने सडक बत्तीसमेत विगत ५ वर्षदेखि बन्द अवस्थामा रहेको उनले बताए। ‘बिग्रिएका बत्ती बनाउन नचाहेको हो कि के हो, अहिलेसम्म १७ वटा सोलार सडक बत्ती खराब छन्,’ उनले भने।

नगरपालिकाले बिग्रिएका सडक बत्ती मर्मत नगर्दा स्थानीयले विभिन्न समस्या भोग्नुपरेको तेज भट्टले बताए। सडक बत्ती लामो समयदेखि नबल्दा स्थानीय बासिन्दा, पैदलयात्री, सवारी चालक तथा आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भइरहेको उनको भनाइ छ।

‘सडक बत्तीहरू लामो समयदेखि नबल्ने तथा बिग्रिएको अवस्थामा रहेका कारण स्थानीय बासिन्दा, पैदलयात्री, सवारीसाधन चालक तथा आवतजावत गर्ने सर्वसाधारणले निकै समस्या भोग्नुपरेको छ,’ उनले भने। रातिको समयमा सडक अँध्यारो हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै चोरी, लुटपाट तथा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावना रहेको उनले बताए।

शुक्लाफाँटा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत बन्दना राईले बिग्रिएका सडक बत्ती मर्मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताएकी छन्। ‘सडक बत्ती बिग्रिएको जानकारी पाएकी छु। यस विषयमा छलफल गरेर मर्मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँछु,’ उनले भनिन्।