शुक्लाफाँटामा भोलिदेखि टी-१० क्रिकेट प्रतियोगिता, विजेतालाई ७० हजार पुरस्कार

२०८३ कार्तिक १ शनिबार २०:०६:०० मा प्रकाशित

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-७ मा भोलिदेखि टी-१० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। शुक्लाफाँटा युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता कात्तिक १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका डम्बर भट्टले बताए। प्रतियोगितामा प्रथम हुने टोलीले ७० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन्। म्यान अफ द सिरिज घोषित खेलाडीलाई २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा विजेता टोलीलाई नगद पुरस्कारसँगै मेडल, ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।