सांसद दीपक बोहराको सचिवालयद्वारा दिपनगर युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण
कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहराको झलारीस्थित सचिवालयले दिपनगर युवा क्लबलाई खेलकुद सामग्री वितरण गरेको छ। मंगलबार शुक्लाफाँटा नगरपालिका-११ स्थित क्लबलाई २ थान फुटबल, २ थान गोलपोस्ट नेट र ४ थान कर्नर झण्डा हस्तान्तरण गरिएको सचिवालयकी सदस्य लक्ष्मी रावलले बताइन्।
सामग्री हस्तान्तरण गर्दै रावलले युवाहरू राष्ट्रका भविष्य भएकाले उनीहरूको प्रतिभा पहिचान गरी खेलकुदप्रति उत्साह बढाउनु, खेलाडीको मनोबल उच्च बनाउनु र स्थानीयस्तरमा खेलकुदको विकास गर्नु सबैको दायित्व भएको बताइन्।
‘समाज परिवर्तनका लागि ठूला काम मात्र नभई साना-साना प्रयास र सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्। जनताको आवश्यकता र युवाहरूको चाहनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि सामाजिक सेवा र खेलकुदको विकासका लागि निरन्तर पहल गर्ने रावलले प्रतिबद्धता व्यक्त गरिन्।