दशैं हामीलाई होइन, सामाजिक सञ्जाललाई पो आएछ!

२०८३ कार्तिक ५ बुधबार १०:४४:०० मा प्रकाशित

दशैंको रौनक हराएको हो कि हामी आफैँ आफ्नो संस्कृति, सम्बन्ध र आत्मीयताबाट टाढिँदै गएका हौँ? बाहिर पिङ मच्चिएको आवाज छ। गाउँघरमा उल्लास हुनुपर्ने हो। घरआँगनमा टीका-जमरा, निधारमा रातो टीका, कानमा जमरा, मीठा परिकारको सुगन्ध अनि आफन्त र साथीभाइको भेटघाटले मन प्रफुल्लित हुनुपर्ने हो।

तर किन हो, यसपालिको दशैंले मन छोइरहेको छैन। न उमंग छ, न उत्साह, न पहिलेको जस्तो चाडपर्वको रौनक। आखिर किन? बाल्यकालको दशैं सम्झिन्छु। दशैं आउनुअघि नै मनमा छुट्टै उमंग जाग्थ्यो।

नयाँ लुगा लगाउने रहर, गाउँमा पिङ हाल्ने चटारो, साथीभाइसँगको रमाइलो, टीका थाप्न आफन्त कहाँ जाने उत्साह, लुँडो र बाघचालका तर्कवितर्क अनि गाउँ नै उर्लिने भोजभतेर। घरबाट टाढा रहेका आफन्तसमेत दशैंका लागि फर्किन्थे।

वर्षभरि नभेटिएका मान्छेहरू भेटिन्थे। ठूलाबडाको आशीर्वाद र सानाको मायाले सम्बन्धलाई थप आत्मीय बनाउँथ्यो। दशैं केवल एउटा चाड थिएन। यो परिवार एकै ठाउँमा जुट्ने अवसर थियो। टाढिएका सम्बन्ध नजिकिने समय थियो।

मान्यजनबाट आशीर्वाद लिने, आफूभन्दा ठूलालाई सम्मान गर्ने, सानालाई माया गर्ने र आपसी मनमुटाव बिर्सेर सम्बन्ध नवीकरण गर्ने पर्व थियो। असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको प्रतीकका रूपमा मनाइने दशैंले हामीलाई शक्ति, साहस, सद्भाव र सकारात्मकताको सन्देश पनि दिन्थ्यो।

तर आज ती सबै सम्झनाहरू खुम्चिँदै गएका छन्। दशैंको उत्साह कतै औपचारिकतामा सीमित हुँदै गएको छ। भेटघाट छन्, तर आत्मीयता कम छ। मुस्कान छन्, तर मनको खुसी हराएझैँ लाग्छ। आफन्त कहाँ पुग्छौँ, नमस्कार गर्छौँ, टीका थाप्छौँ, फोटो खिच्छौँ अनि फेरि आ-आफ्नो मोबाइलमा हराउँछौँ। साथीभाइको जमघटमा जान जाँगर चल्दैन।

आफन्त कहाँ पुग्दा पनि केही समयपछि एकान्त खोज्न मन लाग्छ। वरिपरि मान्छे छन्, तर मनमा अनौठो शून्यता छ। भाइ उस्तै, बहिनी उस्तै, साथी उस्तै, गाउँघर उस्तै। सबैको हातमा मोबाइल छ, आँखा स्क्रिनमा छन् र ध्यान आफ्नै डिजिटल दुनियाँमा हराएको छ।

हामी सामाजिक प्राणी हौँ। हाम्रो खुसी सम्बन्धमा छ, आत्मीयतामा छ, साझा अनुभवमा छ। तर आज हामी भौतिक रूपमा सँगै भएर पनि भावनात्मक रूपमा टाढिँदै गएका त छैनौँ? प्रकृतिसँगको सम्बन्ध छुट्दै गएको, पारिवारिक संवाद घट्दै गएको र प्रत्यक्ष भेटघाटभन्दा भर्चुअल संसार प्रिय बन्दै गएको त होइन?

एकछिन आफ्नै हाततिर ध्यान दिन्छु। बुढी औँला मेसिनझैँ तलमाथि चलिरहेको छ। आँखा स्क्रिनमा टाँसिएका छन्। ५-१० सेकेन्डका छोटाछोटा दृश्यहरू हेर्दै घण्टौँ बितिरहेका छन्। कसैको भिडियोमा लाइक गर्छु, कसैको विचारमा टिप्पणी गर्छु, अरूको जीवन हेरेर आफ्नै खुसी खोज्छु।

मेरो समय, ध्यान र मनोरञ्जन भ्युज, लाइक र कमेन्टमा कैद हुँदै गएको छ। अनि अचानक महसुस हुन्छ–म अरूलाई हेरेर चिन्तित थिएँ, तर आफैँ पनि त्यही दलदलमा डुबिरहेको रहेछु। के सामाजिक सञ्जाल हाम्रो सम्बन्धभन्दा ठूलो हुँदै गएको हो?

के हामीले दशैंको वास्तविक अर्थ बिर्सिएर दशैंका तस्बिर र भिडियो देखाउनुलाई नै दशैं मनाउनु ठान्न थालेका हौँ? के आफन्तसँग बसेर मनका कुरा साट्नुभन्दा उनीहरूसँग खिचेको फोटो सामाजिक सञ्जालमा राख्नु बढी महत्त्वपूर्ण भएको हो?

अवश्य पनि, प्रविधि आफैँमा खराब होइन। टाढा रहेका परिवारलाई जोड्न, शुभकामना आदानप्रदान गर्न र खुसी बाँड्न सामाजिक सञ्जाल उपयोगी छ। विदेशमा रहेका छोराछोरीसँग भिडियो कलमा कुरा गर्न पाउनु पनि प्रविधिकै उपहार हो।

तर प्रविधि हाम्रो सहयोगी हुनुपर्नेमा त्यसैले हाम्रो समय, ध्यान र सम्बन्धमाथि नियन्त्रण जमाउन थाल्यो भने सोच्नुपर्ने बेला आउँछ। दशैंको अर्को सुन्दर पक्ष भनेको पुस्ताबीचको सम्बन्ध हो। हजुरबा-हजुरआमाका कथा सुन्ने, आमाबुबासँग समय बिताउने, बालबालिकालाई संस्कृति र परम्पराको अर्थ बुझाउने अनि परिवारका पुराना सम्झना साट्ने अवसर पनि यही हो।

यदि हाम्रा बालबालिकाले दशैंलाई नयाँ लुगा, टीका र मोबाइलमा खिचिएका तस्बिरमा मात्र सीमित भएर बुझ्न थाले भने उनीहरूलाई आत्मीयता, आशीर्वाद र पारिवारिक एकताको वास्तविक अर्थ कसले सिकाउने?

हुन त दशैंको रौनक घट्नुमा सामाजिक सञ्जाल मात्र जिम्मेवार छैन। वैदेशिक रोजगारीले परिवार टुक्रिएका छन्, व्यस्त जीवनशैलीले भेटघाट घटाएको छ, आर्थिक कठिनाइले धेरैको खुसी सीमित बनाएको छ।

कसैका लागि दशैं परिवारसँगको मिलन हो भने कसैका लागि टाढा रहेका आफ्ना मान्छेको सम्झना र विछोडको पीडा पनि हो। त्यसैले सबैको दशैं एउटै हुँदैन। तर यति हुँदाहुँदै पनि हामीले जोगाउनुपर्ने कुरा भने एउटै हो–मानवीय सम्बन्ध र आत्मीयता। दशैंको अर्थ महँगो लुगा लगाउनु, महँगा परिकार खानु वा सामाजिक सञ्जालमा आकर्षक तस्बिर राख्नु मात्र होइन।

यसको अर्थ हो–आफ्ना मान्छेसँग समय बिताउनु, दुःखीको अनुहारमा खुसी ल्याउनु, टाढिएका सम्बन्धलाई नजिक बनाउनु, ठूलाबडाको आशीर्वाद लिनु र सानालाई माया बाँड्नु। कसैको घरमा चुलो नबलेको छ भने त्यहाँ खुसी पु-याउनु पनि दशैंको सुन्दरता हो।

सायद यसपालिको दशैंले मलाई यही कुरा सम्झाइरहेको छ। खुसी खोज्न टाढा जानुपर्दैन। कहिले काहीँ मोबाइल बन्द गरेर परिवारसँग बस्नु, आमाबुबाका कुरा सुन्नु, साथीभाइलाई भेट्नु, गाउँको पिङमा मच्चिनु र बालबालिकासँग हाँस्नु नै जीवनको सबैभन्दा ठूलो खुसी हुन सक्छ।

त्यसैले यस दशैंमा केही समयका लागि मोबाइललाई विश्राम दिऔँ। सामाजिक सञ्जालमा खुसी देखाउनुभन्दा वास्तविक जीवनमा खुसी बाँडौँ। तस्बिर खिच्नुअघिको क्षणलाई महसुस गरौँ। शुभकामना पठाउनुअघि आफ्ना मान्छेलाई फोन गरौँ। सम्भव भए भेटौँ, अँगालो हालौँ र मनका कुरा सुनौँ।

किनकि दशैं केवल पात्रोमा आउने पर्व होइन। यो हाम्रो संस्कृति हो, हाम्रो पहिचान हो, हाम्रो पारिवारिक एकता हो र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको आत्मीयताको उत्सव हो। तर आज एउटा प्रश्नले मन घोचिरहेको छ– दशैंको रौनक हराएको हो कि हामी आफैँ हराएका हौँ?

सायद दशैं त उस्तै छ। टीका उस्तै छ, जमरा उस्तै छ, आशीर्वाद उस्तै छ, पिङ पनि उस्तै छ। बदलिएका त हामी हौँ। हाम्रो प्राथमिकता बदलिएको छ, हाम्रो जीवनशैली बदलिएको छ र खुसी खोज्ने तरिका बदलिएको छ।

अनि अन्त्यमा मनले भन्छ– दशैं त हामीलाई आएको हो, तर हामीचाहिँ सामाजिक सञ्जाललाई दशैं मनाउन दिएर आफैँ स्क्रिनभित्र हराएका रहेछौँ! (लेखक धामी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटाका नगर सभापति हुन्।)